नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन्।
गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘गठबन्धनमा भएका दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुनमा ढिलाइ भइरहेको छ। छिट्टै सरकारले पूर्णता दिने तयारी भइरहेको छ।’
उनले कम्युनिष्टहरुले संविधानको भावना र मर्ममा लगातार प्रहार गरेकाले गठबन्धन निर्माण भएको दाबी गरे। र‚ कांग्रेस नेतृत्वमा सरकार निर्माण भएको बताए।
‘कम्युनिष्टहरुले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेकै कारण गठबन्धनको निर्माण भएको छ‚’ उनले भने‚ ‘कम्युनिष्ट असफल हुँदा त्यसको प्रतिफल स्वरुप कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसरका पाएको छ।’ कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास व्यक्त गरे।
यस्तै, पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने दाबी गरे। पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधानअनुसार समाधन गर्नु पर्ने उनको भनाइ छ।
‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको छ। महाधिवेशन निष्पक्ष तवरले गर्नु पर्छ‚’ नेता सिंहले भने‚ ‘विवाद भएका जिल्लामा विधिविधानअनुसार समाधन गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ।’
महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवारको सम्भावना अझै नसकिएको उनले बताए। नेता सिंहले भने‚ ‘हामीले त्यसबारे निरन्तर छलफल गरिरहेका छौँ। तर, म सभापतिको उम्मेदवारबाट पछि हट्ने मनस्थितिमा छैन।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।