सरकारले संसदबाट पास नगराउँदा बुधबार रातिदेखि १० अध्यादेश निष्क्रिय भएका छन् । अध्यादेशहरु निष्क्रिय हुँदा कोरोनाको खोप खरीद मात्र होइन, तेजाब र हिंसा पीडित महिलाहरु पनि प्रभावित हुने भएका छन् ।
केपी शर्मा ओली सरकारले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश ल्याएको थियो ।
दोस्रोपटक प्रतिनिधिसभा पुनःस्थापन भएपछि साउन ३ गते पेस भएका १५ वटा अध्यादेश मध्ये १० अध्यादेश निष्क्रिय भएका हुन्।
संविधानअनुसार संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने व्यवस्था छ। प्रमाणीकरण गर्न नसकेमा ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था रहेको छ।
निष्क्रिय भएका अध्यादेश
१. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश
२. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय–पहिलो संशोधन) अध्यादेश
३. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश
४. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश
५. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश
६. कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश
७. औषधि (तेस्रो संशोधन) अध्यादेश
८. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश
९. रेल्वे अध्यादेश
१०. शपथसम्बन्धी अध्यादेश
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।