पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन, संरचना र विचार देशैभरि पुर्याएर गए पार्टीलाई एक नम्बरमा ल्याउन सकिने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको ७ औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले भने, ‘शान्ति प्रक्रियामा आउनेबित्तिकै हामीलाई पाँच र सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो ।’ उनले माओवादी ठुलो पार्टी बन्छ भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएका उल्लेख गरे ।
माओवादीले बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरुलाई पहिलो पार्टी बनेर आफूहरुले जवाफ दिएको उनको भनाई थियो । अध्यक्ष प्रचण्डले आउँदो चुनावसम्म सत्ता गठबन्धन कुनै हालतमा नभत्किने प्रष्ट पारे ।
उनले पार्टीमा जनता र कार्यकर्ताहरु सही ठाउँमा रहेको उल्लेख गर्दै भने, ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् । जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’
प्रचण्डले पार्टी पुनःनिर्माणको महान् अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अवस्था आएको बताए । ‘हामी पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेका छौं । विगत ८, १० वर्ष अरुलाई गाली गरेर बितायौँ । अब आफैलाई गाली गरौ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ’ उनले भने
उनले केन्द्रीय समितिबाट आफूहरुले गरेको सङ्कल्प अनुसारको विचार, सिद्धान्त र संगठन बनाउने र त्यस अनुसार अगाडि बढे फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताए । उनले त्यस्तो स्थितिमा आफूहरुले देशको नेतृत्व गर्ने स्थिति बन्न्ने बताए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।