• एमालेको विरोधका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक स्वीकृत

  • एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।

    प्रतिपक्षी दलको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए ।

    अवरोधकै बीच ‘विनियोजन विधेयक, २०७८’ माथिको सैद्धान्तिक छलफलका लागि सभामुख सापकोटाले समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

    जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे ।

    विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरेका छन् ।

    एमालेले आफूले कारवाही गरेका १४ सांसदलाई संसद् प्रवेश निषेध गर्नुपर्ने माग राखी संसद्को चालू अधिवेशन प्रारम्भ भएदेखि नै अवरोध गर्दै आएको छ ।प्रतिनिधिसभाको नवौँ अधिवेशन यही भदौ २३ देखि शुरु भएको थियो ।

    संसद्को गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले प्रतिनिधिसभामा सहभागी राजनीतिक दल सम्मिलित सर्वदलीय बैठक सोमबार आयोजना गरेका थिए । सो बैठकमा एमाले उपस्थित नभएपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय