• निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गरायो

  • काठमाडाैं। निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गराएको छ ।

    आयोगको पत्र प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायतको टोलीले आज प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।

    आयोगले उक्त पत्रमार्फत नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित भएका १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियामवली, २०७४ (दोस्रो संशोधन अध्यादेश, २०७८) को नियम ५ अनुसार एमालेबाट विभाजन भई नेकपा (एकीकृत समाजवादी) बनेको जानकारी गराइएको छ ।

    निर्वाचन आयोगले एकीकृत समाजवादी रोजेका प्रदेशसभा सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३(२क) बमोजिम दल त्याग गरेको नमानिने अवगत गराएको छ ।

    प्रदेशसभामा नयाँ दल सूचीकृत भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या सात पुगेको छ ।

    सभामा विभाजनपछि पनि ४३ सदस्यसहित नेकपा एमाले सबैभन्दा ठूलो दल छ भने नेकपा माओवादी केन्द्र २३ सदस्यसहित दोस्रो त्यस्तै २२ सदस्यसहित नेपाली कांग्रेस तेस्रो दलका रूपमा रहेको छ ।

    नयाँ दल नेकपा (एकीकृत समाजवादी) १३ सदस्यसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये चौथो दल बन्न पुगेको छ ।

    तीन सदस्य सङ्ख्यासहित प्रदेशसभामा यसअघि चौथो ठूलो दलका रुपमा रहेको विवेकशील साझा पाँचौँमा पुगेको छ । प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी र राप्रपाको दुई/दुई जना सदस्य रहेका छन् भने स्वतन्त्रतर्फ एक सदस्य छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय