काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा समरबीचको वार्ता लम्बिएपछि सत्ता गठबन्धनको बैठक हुन सकेन् ।
बैठकका लागि हिजाे साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेरका सत्ता गठबन्धनका शीर्ष नेताहरु एक घण्टा कुरेर बाहिरिएका छन् ।
बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ बजे नै बालुवाटार पुगेका थिए ।
त्यसअघि नै प्रधानमन्त्री देउवालाई भेट्न पुगेकी एमसीसी उपाध्यक्ष फतिमासँगको बैठक नसकिएपछि शीर्ष नेताहरु कुरेर बसेका थिए । ७ बजेसम्म कुर्दा पनि फतिमासँगको बैठक नसकिएपछि शीर्ष नेताहरु बाहिरिएको एक नेताले बताए ।
प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक राखेर एउटी विदेशीसँगको छलफललाई बढी महत्व दिनु गम्भीर भुल भएको ती नेताको भनाइ छ ।
आजको बैठकमा भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाबाट दोस्रो वरियताका नेताहरुको पनि सहभागिता हुने तयारी थियो ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी), मन्त्रालय भागवण्डा र विपक्षीको संसद अवरोधबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक राखिएको थियो ।
सत्ता गठबन्धन दलबीच मन्त्रालयको संख्या टुंगिएपनि भागवण्डा भने मिलेको छैन । मालदार मन्त्रालयमा सबैको दावी रहेपछि पछिल्लो समय विवाद छ । माधव नेपाल र उपेन्द्र यादवबीच त बैठकमै भनाभन भएका थिए ।
एमसीसीबारे कांग्रेस बाहेकका दलहरु विपक्षमा छन् । अहिले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई एमसीसीबारे एमसीसीका प्रतिनिधिलाई के जवाफ दिने भन्नेमा अन्यौल बनेको स्रोतको भनाइ छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।