एजेन्सी। चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ ।
विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो ।
चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ ।
चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिवानलाई प्रारम्भिक सहयोगस्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।
अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै तीन सातापछि केही दिन अगाडि अन्तरिम सरकार गठन भएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिइङले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताइन् ।
उनले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपत्कालीन सहयोगको रुपसमेतमा व्याख्या गरिन् ।
सहयोग अन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधीजन्य पदार्थलगायत पनि रहनेछ।
तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका थिए ।
घानी सरकारले हात उठाएपछि नयाँ सरकार गठन हुन नसकेको र नयाँ सरकार काम गर्न अन्यौलमा परेकोले दैनिक उपभोग्य वस्तुको व्यवस्थापनदेखि प्रशासनिक कामसमेतमा ठूलो समस्या देखिएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसकेका छन्। तर खोप कहिले उपलब्ध हुन्छ भन्ने यकिन हुन भने बाँकी नै रहेको बताइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।