• वैदेशिक लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध : देउवा

  • काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा उपयुक्त वातावरण निर्माण गर्न सरकार तयार रहेको बताएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित लगानी बोर्डको दशौँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसमेत गरे।

    नेपालले लिएको दीगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले लगानीको वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहको बताए ।

    उनले वैदेशिक लगानीको पहिचान र खोजी गरी नेपालमा लगानी गर्न सकिने बताएका छन्।

    सम्मेलनमार्फत प्रत्यक्ष लगानीको पहिचान गरेर नेपाल भित्र्याउन सकिनेमा आफू आशावादी रहेको उनले उल्लेख गरे ।

    प्रधानमन्त्री देउवाले सरकारी निकाय, निजी क्षेत्रलगायतको सहकार्यमा लगानीको वातावरण बनाउनुपर्ने बताए।

    संघीय नेपालको संरचना साझेदारीमा मात्रै विकास सम्भव हुने विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, “राजनीतिक परिवर्तनपछि अब आर्थिक विकासमा मुलुक केन्द्रित भएको छ ।”

    ठूला र महत्वपूर्ण राष्ट्रिय परियोजना पनि सार्वजनिक, निजी साझेदारीमा अघि बढाउनुपर्ने महसुस सरकारले गरेको प्रधानमन्त्रीको भनाइ थियो । त्यसका लागि नेपाल सरकारकोतर्फबाट आवश्यक सहयोग र समन्वय हुने उनले बताए ।

    आपसी साझेदारीबाट नै त्यस्ता परियोजनाको व्यवस्थापन गर्न सकिनेमा उनको जोड थियो ।

    नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले त्यसका लागि नेपालले दिगो विकास लक्ष्यको अवधारणालाई पूर्णरुपमा पालना गरेर अघि बढिरहेको बताए ।

    उनले उक्त लक्ष्य पूरा गर्न नेपालले आर्थिक वृद्धिमा रहेको दूरी हटाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

    प्रधानमन्त्री देउवाले मुलुकको विकासका लागि निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्ने र त्यसका लागि सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बन्दै गएको र त्यसका लागि आवश्यक वातावरण तयार पार्न सरकार तयार रहेको बताए।

    अर्थमन्त्री शर्माले लगानीका दृष्टिकोणले पहिलो दशकमा महत्वपूर्ण आधार तयार भएको जानकारी दिँदै अबको १० वर्षमा अपेक्षा पूरा गर्नेस्तरको लगानी गर्न आवश्यक हुने उल्लेख गरे।

    उनले लगानी भित्र्याउने क्रममा आइपर्ने समस्या समाधानमा सहजीकरण हुने आश्वासन पनि दिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस