पोखरा। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएका छन्।
नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा आज पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी संगठन बलियो भएर अघि बढ्ने बताए।
निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै उनले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गरे ।
कास्कीमा जस्तै नेकपा एमालेको सङ्गठनलाई देशव्यापी एकताबद्ध बनाउनुपर्ने बताउँदै उनले जनताका हर समस्यामा सहयोग गर्ने गरी पार्टीको समाजसेवी दस्ता तयार गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार पार्टीको आन्तरिक सहयोग जुटाएर जनताको आवश्यकतानुसार काम गर्ने दस्ताको मुख्य लक्ष्य रहनेछ ।
पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आन्तरिक संघर्ष पार्टी फुटाउनका लागि नभई सुदृढीकरणका लागि हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई सङ्गठित भएर पार्टी निर्माणमा जुटन आग्रह गरे ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।