

काठमाडाैं। सुदूरपश्चिम प्रदेशसभामा नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।
चौध प्रदेशसभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य माया तामाङ बोहराले आज प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर नवगठित पार्टीका पक्षमा सनाखत गराएसँगै प्रदेशसभामा एकीकृत समाजवादी पार्टी ठूलो दल बनेको हो ।
यसअघि नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोेशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीद्वय चुनकुमारी चौधरी र मनाकुमारी साउदले नवगठित पार्टीका पक्षमा सनाखत गराएका थिए।
यस्तै पूर्वराज्यमन्त्री प्रकाश रावल, एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वप्रमुख सचेतक तारा लामा तामाङ, पूर्वमन्त्री माया भट्ट, सुशीला बुढाथोकी, अमरबहादुर साउद, कुलवीर चौधरी र बलबहादुर सोडारीले पनि नयाँ पार्टीमा सनाखत गराएका थिए।
मन्त्री सोडारी एमाले कैलालीको र पूर्वप्रमुख सचेतक तामाङ कञ्चनपुर एमालेको अध्यक्ष थिए।
प्रदेशसभामा अब नेकपा एमाले सभामुखबाहेक १० जनामा सीमित भएको छ ।
यसअघि प्रदेशसभामा नेकपा एमालेका २५ सदस्यसहित सबैभन्दा ठूलो दल थियो । प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना सदस्य छन् ।
प्रदेशसभामा विभिन्न दलका गरी जम्मा ५२ जना सदस्य छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी र पूर्वमन्त्री माया भट्ट समाजवादी पार्टीको केन्द्रीय सदस्य छन्।
सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
