काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालले वामपन्थी सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाएर क्रान्तिको कुरा गरेको आरोप लगाएका छन् ।
उनले वामपन्थी र देश विकासमा लागेको सरकार ढालेको भन्दै आफूले माधवकुमार नेपालजस्तो लाज सरम पचाएको मान्छे आफूले जिन्दगीमै कतै पनि नदेखेको टिप्पणी गरे ।
उनले भने, ‘अस्तिसम्म जुन खाटमा बसेका थिए, त्यसैमा अहिले बन्चरो हानिरहेका छन्, जुन पिर्कामा कसेका थिए, त्यही भाँचेका भाच्यै छन्। जुन मन्दिरमा पुजा गर्थे, त्यसैमा थुकेका थुक्यै छन् । के भएको यो ? पतन भएको भनेको त्यही हो ।’
अर्को प्रसंगमा उनले चीनसँग सीमा विवाद नै नभएको बताए । उनले अन्य कुनै विदेशी शक्तिलाई खुसी पार्न सीमा विवाद अध्ययनका लागि समिति बनाएको समेत आरोप लगाएका छन् ।
पार्टीका कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले हालै चीनसँग हुम्लाको नाम्खामा भएको भनिएको सीमा विवादको विषयमा अध्ययन गर्न गठित समितिलाई चीनसँग सीमा विवाद देखाउन चुनौती दिए ।
उनले भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुप¥यो । चीनसँग सीमा विवाद छैन ।’
उनले चीन र भारतसँग सरकारले सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको टिप्पणी गरे । उनले सत्तामा हुँदा कांग्रेस र माओवादीले नै एमसीसी सम्झौता गरेको भन्दै अहिले एमसीसीबारे नबोलेको आरोप लगाएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।