![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/09/sahilal-shrestha_Sb4vpR7ZZG.jpg)
काठमाडौँ- काठमाडौँ महानगरपालिका-१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको बिहीबार नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ ।
तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविकझैँ कुराकानी गरेका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले च्यापेको हो ।
विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय रहेका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएका वडा सदस्य मधुसुदन प्रधानले जानकारी दिए । पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।
नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उनको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताए । श्रेष्ठको निधनमा महानगरले शुक्रबार एक दिन शोक विदा दिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)