भोलिदेखि काठमाडौंको फोहोर संकलन नियमित हुने भएको छ । भोलि बिहान ६ बजेदेखि काठमाडौं महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको हो ।
आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।
सडक भत्किनु प्राविधिक कारणले साइटमा फोहोर लैजान कठिनाइ भइरहेको थियो । यही अवस्थामा ककनी गाउँपालिका वडा १ की एकजना ७० वर्षीया वृद्धाको भदौ ६ गते मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् ।
हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिशा र ४ वटा परिवारले पिउने गरेको पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ ।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ’ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘स्थानीय समस्या समाधान गर्ने काम निरन्तर हुनेछ । हामीले समाधान गर्न नसक्ने समस्या भए सम्वन्धित निकायसँग समाधानका लागि पहल गर्छौं ।’
उनले लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुने बताए । ‘स्थानीय जीवन र वातावरणलाई असर नपार्ने गरी भोलिदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम नियमित हुनेछ । हामीले यस अघि पनि स्थानीयले उठाएका जायज माग पूरा गरेका छौँ । अहिले पनि जायज माग पूरा गराउन प्रतिवद्ध छौँ । यसका लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ’ उनले भने ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।