

काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले निष्कासन गरेका १४ सांसदहरूको पद रिक्त नगर्ने निर्णय गरेका छन्।
राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भइसकेका कारण पद रिक्त नगर्ने निर्णय भएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
सभामुखको निर्णयमा भनिएको छ, “पत्रमा उल्लेख भएका प्रतिनिधिसभा सांसदहरू समेत संलग्न भई नेकपा एकीकृत समाजवादी दर्ता भएको जानकारी निर्वाचन आयोगबाट प्राप्त भएको सन्दर्भ समेत मनन गर्दा नेकपा एमालेको पत्रबारे कुनै कारबाही गरिरहनुपर्ने अवस्था रहेन।”
नेकपा एमालेले भदौ १ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित १४ जना सांसदहरूलाई निष्कासन गरिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो।
राजनीतिक दल सम्बन्धी ऐन अनुसार दलले निष्कासन गरेका सांसदको पद रिक्त हुन सभामुखले संसद् चलेको बेला बैठकमा सूचना सुनाउने र नचलेको समयमा सचिवालयको पाटीमा सूचना टाँस गर्नुपर्ने व्यवस्था छ।
सभामुखले त्यसबारे निर्णय गर्नुअघि नै एमालेले निष्कासन गरेका सांसदहरूसहित
निर्वाचन आयोगमा अलग दल दर्ता भइसकेको छ।
सभामुखले एमालेको पत्रबारे तत्कालै कारबाही नगरेको भन्दै एमालेले सभामुखको चर्को आलोचना गर्दै आएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
