एजेन्सी। तालिबानले अफगानी नागरिकलाई काबुल विमानस्थल जान रोक लगाएको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएका हुन्।
मंगलवार पत्रकार सम्मेलनमा बोल्दै उनले विमानस्थल गएका नागरिकहरूलाई घर फर्कन अनुरोध गर्दै उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताए।
तर अमेरिकाले विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप उनले लगाए।
अमेरिकी साझेदारहरूले अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगावै तालिबानको पुनरागमन हुँदा त्रसित भएर भागेका सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताएको केही घण्टापछि आयोजित पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता मुजाहिदले सो अभिव्यक्ति दिएका हुन्।
अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा केही बढी मानिस विदेश गएको बताइएको छ।
तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन्।
तालिबान प्रवक्ता मुजाहिदले अमेरिकालाई अफगानहरूलाई देश छाड्न नउक्साउन चेतावनी दिँदै उनीहरूको कौशल आवश्यक रहेको बताए।
यसै महिनाभित्र ‘सबै विदेशी नागरिकलाई देशबाहिर लैजान समय रहेको’ भन्दै समयसीमा थपिएला भन्ने आफूलाई नलागेको उनले बताए।
विदेशी दूतावासहरूलाई सुरक्षा सुनिश्चित गरिएको बताउँदै त्यो बन्द वा छाड्ने काम नगर्न आग्रह गरे।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।