• धनगढी शीर्षस्थानमा

  • काठमाडौं । एफसी चितवनमाथि सानादार जित निकाल्दै धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा शीर्षस्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा चितवनलाई ३–० ले पराजित गर्दै धनगढी शीर्षस्थानमा उक्लिएको हो ।
    धनगढीको जितमा निशान लिम्बु, ओलावाले ओलाडिपो आफिज र बुद्ध बल तामाङले गोल गरे ।
    पहिलो हाफ दबाबमा खेलेको धनगढीले दोस्रो हाफमा सुधारिएको खेल पस्किँदै तीन गोल गर्न सफल भएको थियो । २३औं मिनेटमा शिशिर लेखीको क्रस पासमा गोरान जर्काेभिचको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा जर्ज प्रिन्स कार्कीको भली प्रहार क्रसबारमा लागेर बाहिरिँदा एफसी चितवन अग्रता लिनबाट चुक्यो । २८औं मिनेटमा इलसायद सावनको प्रहार आकासिँदा चितवनले अग्रता लिन सकेन । ३२औं मिनेटमा जर्जप्रिन्स कार्कीले काउन्टर अट्याकमा पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो ।
    ३६औं मिनेटमा जर्जप्रिन्स कार्कीको झन्डै ३० यार्ड टाढाको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिँदा चितवन अग्रता लिनबाट चुक्यो । ५१औं मिनेटमा सिमन्त थापाको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले नियन्त्रणमा लिए । दोस्रो हाफको खेल जारी छ ।
    ६३औं मिनेटमा निशान लिम्बुले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका हुन् । उनले निशान खड्काको क्रस पासमा गोल गरे । ६९औं मिनेटमा ओलावाले ओलाडिपो आफिजले हेडमार्फत गोल गर्दै धनगढीको अग्रता दोब्बर पारे । जारी लिगमा उनको यो चौथो गोल हो । उनले निशान लिम्बुको क्रस पासलाई अनमार्क रहेका ओलावालेले हेडमार्फत सदुपयोग गरेका थिए । ७९औं मिनेटमा रुडी जोनाथनको क्रस पासमा गोरान जर्काेभिचले अशोक खवासलाई बिट गर्दै गोल गरे पनि उनको गोलले मान्यता पाएन ।

    सहायक रेफ्री नानीराम थापाले जर्काेभिच अफसाइड रहेको झन्डा उठाएका थिए । लगत्तै काउन्टर अट्याकमा बुद्ध बल तामाङले गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए । टंक बस्नेतको क्रसलाई ओलावालेको प्रहारलाई बुद्धले नियन्त्रणमा लिँदै सहज फिनिस गरेका थिए । धनगढी एफसीका बुद्ध बल तामाङ इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । जितपछि धनगढीको ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित चितवन ३ खेलबाट २ अंक जोडेर सातांै स्थानमा झरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय