![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/Australia.jpg)
अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ ।
देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो ।
देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमारीको प्रभाव पनि धेरै परेकाले सतर्कता पनि बढाइएको छ ।
समयावधि बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म नै लकडाउन कायमै रहने भएको छ ।
कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म कफ्र्यू पनि लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीहरुको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।
घरबाहिर गरिने शारीरिक व्यायाम दैनिक एक घण्टा मात्रै गर्न पाइने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउन लागू गरिएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा शारीरिक कसरत गर्दाबाहेक अरू बेला मास्क अनिवार्य गरिएको छ । यो व्यवस्था पनि यही अगस्त २३ देखि नै लागू हुन्छ ।
सिड्नीको बृहत् क्षेत्र र आसपासका क्षेत्रमा लागू गरिएको लकडाउन यही अगस्त २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ ।
न्यू साउथ वेल्स प्रदेशभर पछिल्लो २४ घण्टामा मात्रै ६४४ जना नयाँ सङ्क्रमित थपिएका र चार जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकै बेला लकडाउनको समयावधि थप्ने निर्णय भएको हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)