• कांग्रेस महाधिवेशन कार्यतालिका फेरि प्रभावित, सर्ला त महाधिवेशन मिति ?

  • काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको अन्तिमपटक संशोधित कार्यतालिका पनि प्रभावित भएको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा समिति बनेको थियो । कांग्रेस नेता डा। मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले पार्कभिलेजमा बसेर बिहानदेखि राति अबेरसम्म निरन्तर काम गरिरहेको छ ।

    तर, विवादको छिनोफानो अहिलेसम्म हुन सकेको छैन । समितिले विवाद टुङ्ग्याउन नसक्दा कांग्रेसको अन्तिम पटकका लागि भनेर तय गरिएको कार्यतालिका पनि उलङ्घन भएको छ । कांग्रेसले अन्तिपटक बनाएको कार्यतालिकामा भदौ २ गते क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने उल्लेख छ । तर, भदौ ३ गतेसम्म पनि विवाद नटुङ्गिँदा नामावली तयार समेत हुन सकेको छैन ।

    स्रोतका अनुसार पार्कभिलेज बैठकमार्फत क्रियाशील विवाद समाधान समितिले धेरैजसो विवाद टुङ्ग्याएको छ । ‘अब केही जिल्लाको मात्र निर्णय हुन बाँकी छ । हामी आजै टुङ्ग्याएर उठ्ने प्रयत्नमा छौँ,’ समितिका एक सदस्यले भने, ‘छिट्टै सदस्यको नामावली तयार हुने छ ।’

    पार्कभिलेजमा हरेक विवादित जिल्लाका विषयमा नीतिगत निर्णयमात्र भइरहेको छ । विवाद समाधान समितिले गरेका निर्णय कार्यान्वयन भने क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको छ । क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्यका अनुसार अब क्रियाशील सदस्यताको करिब २ प्रतिशत मात्र काम बाँकी छ ।

    ती समितिमा पनि क्रियाशील सदस्यता विवाद समाधान समितिले जुन–जुन वडामा बढी विवाद छ, ती वडाका नयाँ क्रियाशील सदस्यलाई अर्को अधिवेशनमा मात्र भाग लिन पाउनेगरी पुरानाबाट महाधिवेशन गराउनेगरी निर्णय गर्न लागेको छ । विवाद समाधान समितिसँगै क्रियाशील सदस्यता छानबिन समितिले पनि काम गरेकाले भोलिभित्र क्रियाशील सदस्यता छानबिन टुङ्गोमा पुग्ने क्रियाशील सदस्यता छानबिन समितिका ती सदस्यको भनाइ छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय