एजेन्सी। अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूको नियन्त्रणमा पुगेको छ।
तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन्।
पछिल्लो पटक तालिबान लडाकूको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त छन्।
ती बाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन्। अन्य सवै भाग तालिबान लडाकूको नियन्त्रणमा रहेका छन्।
लडाकूले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन्।
पछिल्लो समय अफगानिस्तानमा संघर्षरत तालिबान लडाकू बढी आक्रामक देखिएका छन्। उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन् भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन्।
एकपछि अर्काे सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिन अगाडि नै कब्जा गरेको छ।
कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसावले समेत महत्वपूर्ण क्षेत्र हो। अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको छ।
उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।