• पाँच वर्षमुनिका बालबालिकामा संक्रमण बढ्यो

  • बाजुरामा पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको सङ्क्रमण बढ्न थालेको छ । बुधबार जिल्ला अस्पताल बाजुराले पत्रकारसँगको अन्तरक्रियामा पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको सङ्क्रमण बढेको अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताएका हुन् ।

    उनले पछिल्लो दुई सातामा ३७ बालबालिकालाई कोरोनासँग मिल्ने रोगको सङ्क्रमणले बढी प्रभावित बनाएको र अस्पतालमा उपचारमा गराउनेको सङ्ख्या बढेको बताए । यही साउन १५ गतेयता अस्पतालमा ३७ बालबालिका निमोनियालगायतका रोगले ग्रस्त भई उपचारमा आएको तथ्याङ्क पत्रकारसँगको अन्तक्र्रियामा सार्वजनिक गरिएको हो ।

    अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बालबालिकामा श्वासप्रश्वासमा समस्या आउने, झाडापखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखापरेको भन्दै नयाँ भेरियन्टको डेल्टा नामक कोरोना भाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो भएकाले बालबालिका बढी प्रभावित बनेको बताए ।

    एकाएक सबै पाँच वर्षमुनिका बालबालिकामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । जिल्लामा विगत चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा डरलाग्दो सङ्क्रमण पहिलोपटक देखिएको कार्यालय प्रमुख डा जोशीको भनाइ छ ।

    भर्ना भएकामध्ये ३० जना निको भएर घर फर्किएका छन् भने छ जनाको अझै उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि रिफर गरिएको छ । भर्ना भएकामध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको अस्पतालका कार्यालय प्रमुख डा जोशीले बताए । उपचारका लागि भर्ना भएकामध्ये अधिकांशमा ज्वरो, निमोनिया, श्वासप्रश्वास र पखालाको सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई अक्सिजनको सहारामा उपचार गर्नुपरेको छ ।

    मौसमी सङ्क्रमण हो वा भाइरल ज्वरो हो भन्ने यकिनका लागि परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको कोभिड–१९ सूचना अधिकारी चूडामणि पन्तले बताउनुभयो । कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टिजेन जाँच गर्दा नेगेटिभ देखाए पनि ज्वरोको सङ्क्रमण मात्र हो भन्ने अवस्था नरहेको अस्पतालका कोभिड–१९ सूचना अधिकारी पन्तले बताए । स्वास्थ्यकर्मीले कोरोनाको तेस्रो लहर हुनसक्ने अनुमानसहित थप जाँचको आवश्यकता देखिएको बताएका छन् ।

    पाँच वर्षभन्दा कम उमेर समूहका अधिकांशका एकाएक एकै प्रकारको सङ्क्रमण र लक्षणको समस्या देखिनु सामान्य नहुने भएकाले घर परिवारले ख्याल गर्नुपर्ने अस्पतालले जनाएको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस