

अर्थमन्त्री जनार्दन शर्माले नेपालको यथार्थ आर्थिक परिदृष्यको विवरण ‘श्वेतपत्र’ मंगलबार ल्याउने भएका छन् । अर्थमन्त्रीले मंगलबार प्रतिनिधिसभामा यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो ।
वर्तमान आर्थिक अवस्थाको जानकारी तयार गरिएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोभिडबाट अर्थतन्त्रमा परेको प्रभावलगायत विषयलाई समेटेर यथार्थ विवरण तयार पारिएको मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए । यथार्थपत्रमा अबका चुनौतीलाई र अबको बाटो के–कस्तो हुने भनेर पनि उल्लेख गरिएको उनको भनाइ छ ।
संसद सचिवालयले आजको संसद बैठकका लागि तयार पारेको सम्भावित कार्यसूचीमा श्वेतपत्रको विषय समावेश गरिएको छैन ।
अर्थमन्त्रीको कार्यभार सम्हालेपछि शर्माले वर्तमान अवस्थाको चित्रण गर्ने गरी ‘यथार्थपत्र’ सार्वजनिक गर्ने बताएका थिए । यसअघि २०७४ चैतमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि श्वेतपत्र सार्वजनिक गरेका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
