नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले डाकेको स्थायी कमिटीको बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक सुरु भएको हो ।
पार्टी एकताको सन्दर्भमा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न नेपालले नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल हुने एजेण्डा तय गर्ने नेता रघुजी पन्तले जानकारी दिए । स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने छ ।
पार्टी एकताका लागि सक्रिय दोस्रो तहका नेताको कार्यदलले १० बुँदे सहमति जुटाए पनि वरिष्ठ नेता नेपालले त्यसलाई अस्वीकार गरेका थिए ।
माधव समूहका कार्यदल संयोजक रहेका भीम रावलले १० बुँदे सहमतिमै टेकेरै पार्टीलाई एकताबद्ध बनाउन पर्नेमा जोड दिँदै आएका छन् । तर नेपाल भने अध्यक्षसँग समान अधिकारको माग गर्दै सहमतिलाई अस्वीकार गर्दै आएका छन् ।
यसबीच आफू पक्षीय स्थायी कमिटीका सदस्यहरूको धारणा बुझ्न नेपालले बैठक डाकेका हुन् । बुधबारबारका लागि डाकिएको बैठक नेताहरू उपस्थित हुन नसकेपछि एक दिन पछि सारिएको थियो ।
नेपालले बोलाएको बैठक अनधिकृत भन्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।