![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/04/beaten-to-death-1538703563-1563041099-1592017534-1599378557.jpg)
बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।
बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनले भने, “जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको रहेछ, उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको भन्ने बुझिएको छ ।”
करेन्ट लाग्ने बित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै सहोदर दाजुभाइ हुन् । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ ।
जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)