काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी छन्।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेको बताइएको छ।
प्रधानमन्त्री देउवाले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्। कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन्।
घिसिङलाई प्राधिकरणमा फर्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री देउबासँग छलफल गरेका थिए।
प्राधिकरणमा अघिल्लो कार्यकालमा गरेको कार्यम्पादनका आधारमा पुनः नियुक्ति गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रचण्डले पटक-पटक आग्रह गरे पनि ओलीले घिसिङलाई नियुक्ति दिन अस्वीकार गरेका थिए।
उनले प्रतिस्पर्धाको बहाना गर्दै घिसिङलाई नियुक्त नगरेपनि शाक्यलाई कुनै प्रतिस्पर्धा बिना सोझै नियुक्ति दिएका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।