बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा छलफल भएको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा छलफल भएको बताए ।
‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो । मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ’ उनले भने । उनका अनुसार आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ । बुधबार बिहान झन्डै २ घन्टासम्म बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए । एमालेको माधव नेपालले भने बैठकमा डा. विजय पौडेललाई पठाएका थिए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।