![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/07/Sujita-BHandari.gif)
चितवन। पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन्।
जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर उनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको हो।
प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताकी आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिए। गत असार ११ गते घरबाट हराएकी सुजिता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायिक वनमा मृतावस्थामा भेटिएकी थिइन्।
पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेम सम्बन्ध रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताव सुकदेवले अस्वीकार गरेपछि घटना भएको अधिकारीले जानकारी दिए।
असार ९ गते उनीहरुबीच विवाहका विषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिए।
मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ। सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धी कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र ५० हजारसम्म जरिवानाको माग दाबी प्रहरीले गरेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)