हेटाैडा। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक जनआन्दोलन–२ को सफलतासँगै बहाली भएको लोकतन्त्र फराकिलो राजमार्ग हुँदै देश विकास र समृद्धिको गन्तव्य पूरा गर्न अग्रसर रहेको बताएका छन्।
लोकतन्त्र दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै एक चरणको राजनीतिक अधिकार प्राप्तिको आन्दोलन निष्कर्षमा पुगेको र अधिकारका लागि लड्नुपर्ने अवस्थाको अन्त्य भएको बताएका हुन्।
सन्देशमा उनले भनेका छन्, “अब हाम्रो एउटै कार्यभार समृद्ध नेपाल, सुखी नेपाली को जनआकाङ्क्षा सम्बोधन गर्नु हो । प्रदेश सरकार यसका लागि अथक प्रयत्नशील रहँदै आएको सर्वविदितै छ ।”
मुख्यमन्त्री पौडेलले विसं २००७ देखि हालसम्म भएका लोकतान्त्रिक आन्दोलनमा थुप्रै नेपाली दाजुभाइ, दिदीबहिनीले आफ्नो अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गरेको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान शहीदप्रति श्रद्धान्जलि व्यक्त गरेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।