• कीर्तिमानी जितसँगै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपाललाई

  • नेपालले त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि जितेको छ । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेको नेपालले नेदरल्याण्ड्समाथि १४२ रनको कीर्तिमानी जित निकालेको हो ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार पारीसँगै २३८ रनको कीर्तिमानी स्कोर बनाएको थियो । जवाफमा नेदरल्याण्ड्स १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रनमा समेटियो ।

    नेदरल्याण्ड्समाथि नेपालले हात पारेको १४२ रनको जित टी–२० अन्तराष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएर १४१ रनको जित हात पारेको थियो ।

    नेदरल्याण्ड्सका लागि सेबास्टिएन ब्राटले अविजित सर्वाधिक २६ रन बनाए भने म्याक्स ओ डोडले २० र कप्तान पिटर सिलारले १३ रन बनाए । नेपालका करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २–२ विकेट र अविनाश बोहोराले एक विकेट हात पारे ।

    नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय