काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले तत्कालीन नेकपाको दुईतिहाइ मत कांग्रेस गठबन्धनमा सरेको बताएका छन्।
आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदा प्रधानमन्त्री शेरबहादुर देउवाले १६५ सांसदबाट मत पाएका हुन्। उनलाई कांग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल समूह र जसपा यादव पक्षका सांसदले मात्र होइन, ओली र महन्थ ठाकुर पक्षका समेत केही सांसदले विश्वासको मत दिएका थिए।
योसँगै ‘भष्मासुर’लाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गर्न सफल भइएको भन्दै डा। भट्टराईले खुसी व्यक्त गरेका हुन्। यसअघि संसदमा नेकपाले पाएको दुईतिहाइ मत अहिले कांग्रेस गठबन्धनमा सरेको उनको टिप्पणी छ।
‘अन्ततः भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो। नेकपाको दुईतिहाइ बहुमत कांग्रेस गठबन्धनमा सर्यो,’ सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘१२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो। पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल बिराम लाग्यो।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।