• कांग्रेसले संसदको गरिमा र विपक्षीको सम्मानसहित सत्ता चलाउँछ : रिजाल

  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले संसद्को गरिमा र विपक्षीप्रति सम्मानसहित कांग्रेसले सत्ता चलाउने बताएका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले लोकतन्त्रलाई जोगाउने र मुलुकको समृद्धिको बाटोमा अघि बढ्न सबैसँग सहकार्य गर्ने विश्वास दिलाए।

    उनले भने, “अदालतले प्रधानमन्त्रीले नियुक्त गरेको नभई कानूनी राज्य र लोकतन्त्र कायम राख्नुपर्छ भनेर निर्णय सुनाएको हो, अदालतले गरेको निर्णयलाई विशिष्ट तागतका रूपमा बुझ्न जरुरी छ।”

    कांग्रेसले विपक्षको सकारात्मक आलोचना र टीकाटिप्पणीलाई सदासर्वदा सम्मान गर्ने बताउँदै पूर्वमन्त्री रिजाले भने, “कांग्रेस निर्वाचनमा हुने हारलाई सहर्ष स्वीकार्ने लोकतान्त्रिक दल हो, लोकतान्त्रमा विश्वास राख्नेलाई कांग्रेसले असहमत हुनेलाई पनि सम्मान गर्न सिकाउँछ।”

    उनले हामी सबै मिलेर बनाएको संविधान र लोकतन्त्रको पाङ्ग्रा एउटा पक्षले भत्काउँदा ठीक हुने तर अहिले पाखा लगाउँदा गलत हो भन्ने तर्क आफैंमा बेठीक भएको बताए।

    उनले सत्ताभन्दा बहिर भए पनि अहंकार नदेखाउन एमाले नेताहरुलाई आग्रह गरे।कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन गरेर अध्यादेश ल्याउन थालेको, जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको, प्रतिनिधिसभा विघटन र अदालतमाथि आक्रमण जस्ता काम गरेको उनको भनाइ थियो।

    ओली नेतृत्वको सरकार संविधान भत्काउने बाटोमा हिँडेको र संसद जोगाउन विवेकको मत प्रयोग गर्ने संविधानको धारा ७६(५) माथि समेत आक्रमण गरिएको भन्दै उनले संविधान भत्काउने प्रवृत्तिविरुद्ध अदालत गएको बताए ।

    उनले भने, “मिलेमतोमा पदीय मर्यादा बिर्सिएर काम गर्नेलाई संविधान छ, संवैधानिक सर्वोच्चता छ भनेर सम्झाउने काम मात्र गरेको हो।’’

    अदालतले प्रधानमन्त्री नियुक्त गरेको एमाले नेता प्रदीप ज्ञवालीको तर्कको खण्डन गर्दै उनले भने, “अदालतले पुष्पकमल दाहाललाई त्यहाँ उभिन लगाएको होइन। माधव नेपाललाई विवेकको मत हाल्न लगाएको होइन। तपाईंले लगाएको हो। अहंकारले लगाएको हो।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय