प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद, प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने विषयमा छलफल भएको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।
सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुुक्त नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुुसार विश्वासको मत लिन लागेका हुन् । उनी गत असार २९ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने कार्य सूचीतय भएको छ ।
यस्तो छ अंकगणित
देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २७१ सांसदमध्ये १३६ जनाको समर्थन चाहिन्छ । कांग्रेस र माओवादीसँग ११० सांसद छन् ।
जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् ।
यो सबै मत आउँदा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।
माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । माधव पक्षले यसअघि नै देउवालाई विश्वासको मत दिने बताएको छ । यद्यपि, अहिले यो पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।