काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रित रहेर छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन केन्द्रित हुँदै तीनवटा समितिसँग छलफल गरेको छ।
आजको बैठकमा वरिष्ठ अधिवक्ता महादेव यादव नेतृत्वको केन्द्रीय निर्वाचन समिति, उपसभभापति बिमलेन्द्र निधि नेतृत्वको पार्टी समायोजन समिति र केन्द्री सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय सदस्यता छानबिन समितिले ब्रिफिङ गरेका थिए ।
‘आजको बैठक आसन्न महाधिवेशनमा केन्द्रित भएको थियो । मुख्यतः तीनवटा समितिका प्रगतिविवरण प्रस्तुत गरिएको थियो,’ केन्द्रीय सदस्यता छानबिन समितिको संयोजकसमेत रहेका रमेश लेखकले भने, ‘निर्वाचन समितिले महाधिवेशन आचारसंहिता पेश गरेको छ । पार्टी समायोजन समितिले केही कुरा मिलाउन बाँकी रह्यो ।’
उनले आफू नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले भने प्रतिवेदन तयार पार्ने अवस्थामा पुगेकाले सभापतिसँग समय मागेको जानकारी दिए ।
‘हाम्रो केन्द्रीय सदस्ता छानबिन समितिले ७५ जिल्लाको छानबिन अन्तिम चरणमा पुर्याएको छ । सप्तरी र बारा जिल्लाको छानबिन बाँकी छ,’ लेखकले भने, ‘हामी केही दिनभित्रै प्रतिवेदन बुझाउने छौँ ।’
केन्द्रीय सदस्यता छानबिन समितिले असार मसान्तभित्र बुझाउन केन्द्रीय समितिसँग समय मागेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।