काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय सकिनै लाग्दा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।
सर्वोच्चले सोमबार संसद पुनर्स्थापनाको फैसला गर्दै १४९ सांसदको समर्थनसहित दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार साँझा ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
मंगलबार ५ बज्न एक घण्टा बाँकी रहँदा राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’
प्रधानमन्त्री नियुक्तिमा संविधानको कुनै पनि धारालाइए उल्लेख गरिएको छैन । यसअघि प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुन धाराअनुसार नियुक्त गरिएको हो भन्ने उल्लेख हुने भएपनि यसपटक राष्ट्रपतिले कुनै पनि धाराको उल्लेख नगरी नियुक्त गरेकी हुन्।
गत जेठ ७ गते देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा १४९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर राष्ट्रपति भण्डारीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि १५३ सांसदको साथ रहेको पत्रसहित दाबी गरेको भन्दै दुवैको दाबी अस्वीकृत गरेकी थिइन् ।
त्यसलगत्तै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गरेकी थिइन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।