एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले आफ्नो करियरको पहिलो औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । राष्ट्रिय टोलीबाट पाँचांै फाइनल खेलेका मेस्सीले शनिबार कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् ।
व्यावसायिक फुटबलमा सबै खाले सफलता हासिल गरेको मेस्सीले राष्ट्रका लागि १५ वर्ष खेल्दा भने कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन् । यसपटक मेस्सीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिनाले फाइनलमा घरेलु टोली तथा साविकको विजेता ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।
३४ वर्षीय मेस्सीले अर्जेन्टिनाबाट १ सय ५१ खेलमा ७६ गोल गरेका छन् । मेस्सीकै कप्तानीमा अर्जेन्टिना २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुगेको थियो । त्यसअघि उनी टोलीमा रहँदा सन् २००७ मा पनि अर्जेन्टिना कोपाको फाइनलमा पुगेको थियो । तर, चारैपटक अर्जेन्टिना फाइनलमा निराश बन्दा मेस्सीले राष्ट्रबाट उपाधिको स्वाद चाख्न पाएका थिएनन् ।
अर्जेन्टिना २००७ मा ब्राजिलसँग ३–० ले तथा २०१५ र २०१६ मा चिलीसँग पेनाल्टी सुटआउटमा स्तब्ध भएको थियो । २०१४ को विश्वकपमा अर्जेन्टिना अतिरिक्त समयमा जर्मनीसँग १–० ले पराजित हुँदै उपाधिबाट वञ्चित बनेको थियो । यसपटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन गजबको प्रदर्शन गरे । उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका थिए । अर्जेन्टिनाले गरेको १३ मध्ये ९ गोलमा उनको प्रत्यक्ष भूमिका रहेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।