काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन्।
प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजना रहेको बताए।
उनले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र संघसंस्थालाई आह्वान पनि गरे। प्रधानमन्त्री ओलीले भने, “विपत्का समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्छ।”
उनले बाढी प्रभावितका लागि विभिन्न संघसंस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले एकद्वार प्रणालीबाट मात्रै वितरण गर्न आह्वान गरे ।
उनले राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको बताउँदै राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न पनि अनुरोध गरे।
प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशम्शेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिए।
उनले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौं उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाइने बताए। उनले भने, “राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन।”
आयोजनाको सुरुङ परीक्षण भइरहेकाले त्यसमा क्षति कम भएको उनको भनाइ थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।