• आज एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक

  • नेकपा एमालेको दशाैं महाधिवेशन आयोजक समितिको बैठक आज ११ बजे बस्दैछ । माधव नेपाल पक्षका नेताहरूले भने सो बैठकमा सहभागी नहुने बताएका छन् ।

    बैठकमा कारबाहीमा परेका माधव नेपालसहित ११ नेताहरूबाहेक अरू नेताहरूलाई बोलाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्रीलगायत ११ नेताहरूलाई बैठकमा नबोलाएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले बुधबारका दिन दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरू गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाए एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    मंगलबार ओली पक्षको स्थायी कमिटीको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

    २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यद्यपि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए ।

    पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरूको असहमतिका बाबजूद माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादललगायतका नेताहरूलाई जिम्मेवारी दिएका थिए । माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।

    यद्यपि एमाले एकताका लागि अध्यक्ष ओली र नेता नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरूले प्रयास गर्दै आएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय