• इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि अमेरिकी हवाई हमला

  • एजेन्सी। अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

    अमेरिकी फौजमाथि विद्रोहीले ड्रोन हमला गरेपछि त्यसको जवाफमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ।

    “अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट छन्,“ विज्ञप्तिमा भनिएको छ।

    बाइडनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो।

    इरानमा रहेका अमेरिकी सेनामाथि गएका महिनामा केही ड्रोन आक्रमणहरू भएका छन्। इरानले आफ्नो संलग्नता नरहेको बताएको छ। आईएस समूहसँग लड्न इराकमा २ हजार ५०० अमेरिकी सैनिक रहेका छन्।

    पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो। ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अल–शुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ।

    सन् २००९ देखि अमेरिकाले कैताइब हेज्बुल्लाहलाई इराकको शान्ति र स्थिरताका लागि खतरा भन्दै आतङ्ककारी समूहको सूचीमा राखेको छ। विज्ञप्तिमा अमेरिकाले आफ्नो रक्षाका लागि प्रतिक्रिया जनाएको बताइएको छ।

    अमेरिकाले हमलामा के कति घाइते भए वा मारिए भन्ने बताएको छैन। तर एएफपीले यूकेको सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्सलाई उदृत गर्दै सिरियामा अमेरिकी युद्धक विमानको आक्रमणमा पाँच विद्रोही मारिएको र अन्य केही घाइते भएको जनाएको छ ।

    अमेरिकी नेतृत्वमा सद्दाम हुसेनको सत्ता हटाएर उनलाई फासी दिएयता इराकको आन्तरिक मामिलामा इरानको प्रभाव विस्तारै बढिरहेको बताइएको छ।

    यो हमला इरानले अमेरिका सहित अन्य शक्ति राष्ट्रहरूसँग सन् २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्न वार्ता गरिरहेको बेला भएको हो। सो सम्झौतामा इरानले केही परमाणु कार्यक्रम रोक्ने र त्यसको बदला इरानमाथि लगाइएका प्रतिबन्ध कम गर्ने बुँदा छन्।

    इजरायलसहित केही देशले इरानले परमाणु बम बनाउन प्रयास गरिरहेको दाबी गरेपछि इरानले अस्वीकार गर्दै आएको छ ।

    भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एकतर्फी रूपमा परमाणु सम्झौताबाट हात झिक्दै सन् २०१८ मा इरानमाथि प्रतिबन्ध लगाएका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय