• क्रियाशील सदस्यता छानबिन छिट्टै टुंगिन्छ : लेखक

  • नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ ।

    नेपाली कांग्रेसको पार्टीभित्रको आन्तरिक समायोजनलगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरणकार्य सबै जिल्लामा सुरु भईसकेकाले समयमै टुंगो लगाएर वडा देखि केन्द्रसम्मको सबै अधिवेशन समय भित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरू सम्मिलित बैठकले कार्यतालिकाअनुसार महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रीत भएर छलफल अघि बढेको उनले जानकारी दिए । पार्टीको वडादेखि केन्द्रसम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्वसर्तको रुपमा रहेका क्रियाशील सदस्यताको छानबिन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उनले बताए ।

    बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशिल सदस्यताको नविकरण र नया इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजनसम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिए ।

    पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बद्रियामा पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामोसमयसम्म समायोजन सम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । ती सबै जिल्लामा अहिले क्रियाशिल सदस्यता वितरणको काम भइरहेको नेता लेखकले जानकारी दिए । नेता खरेलले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरि क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय