• कर्णालीका तीन एमाले सांसद फेरि निलम्बित

  • नेकपा एमाले कर्णाली प्रदेशसभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् ।
    एमालेले संसदीय दलको पत्रक आधारमा सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो ।

    प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णयअनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको बताएको छ ।

    ‘एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक महीनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोराको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ’ सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।

    गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरू निलम्बनमा परेका थिए । तर, जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

    निलम्बनमा परेका थापा हाल भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस