• संसद् विघटनसम्बन्धी रिट : देउवा पक्षको प्रारम्भिक बहस आज सकिँदै

  • प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको बहसमा पक्षतर्फका कानुन व्यवसायीहरूको बहस सकिँदैछ । सर्वोच्चको संवैधानिक इजलासले पक्षका कानुन व्यवसायीलाई बहसका लागि दिएको १२ घण्टाको समय शुक्रबार सकिन लागेको हो ।

    पक्षको बहस सकिएपछि आइतबारदेखि मुद्दाका विपक्षी अर्थात् सरकारी पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । सो पक्षलाई बहसका लागि १५ घण्टा दिइएको छ । उनीहरूको बहस सकिएपछि निवेदक पक्षले जवाफी बहसका लागि ३ घण्टा समय पाउनेछ । त्यसपछि एमिकस क्यूरीलाई राय दिन समय छुट्याइएको छ ।

    शुक्रबार वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०-३० मिनेट, पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०-२० मिनेट, अधिवक्ता टीकाराम भट्टराई १५ मिनेट र अन्य कानुन व्यवसायीहरूलाई न्यूनतम ३ देखि १० मिनेट बहस गर्ने छन् ।

    गत ७ जेठमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा ३० वटा रिट परेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रूपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।

    रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ । रिटहरूमाथि यही ९ असारदेखि निरन्तर बहस हुँदै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय