काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ।
सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन भैसकेको छ।
सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो।
त्यस्तै संसद विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा जवाफ बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन्।
त्यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी एमिकसक्युरी मागेको थियो सोही अनुसार दुवैले दुई दुई सहयोगी पठाइसकेका छन्।
असार एक गते इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी चयन भएका हुन्। नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई÷दुई जना जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा चयन गरेको हो। नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकसक्युरीको रुपमा चयन गरेको छ।
त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनले पनि वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा चयन गरेको छ ।
असार ३ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाइसकेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।