• महाकाली नदीमा पानीको बहाव यस वर्षकै उच्च, दोधारा चादँनीसित जोड्ने बाटो अवरुद्ध

  • केही दिनदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ । बाढीका कारण आज महाकाली नदीमा पानीको बहाव २ लाख २३ हजार २०० क्युसेक पुगेको छ । महाकाली नदीमा यो यस वर्षकै उच्च बहाव हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

    ‘मध्यरातमा पानीको बहाव २ लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो,’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘यो यस वर्षकै उच्च बहाव हो ।’ महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका- १२ ऐरीघाटका ६ सोनाह परिवार विस्थापित भएका छन् ।

    ‘विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ,’ गुरुङले भने, ‘स्थानीय खोला थुनिँदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।’ स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाकालीमा आइरहेको बाढीले नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । ३ अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

    त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्यान्ड) समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सीएसईसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौं रकम बराबरको नोक्सान भएको बताए । ‘गत जेठमा पनि बाढी आउँदा तीन करोडभन्दा बढीको क्षति भएको थियो,’ उनले भने, ‘त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय