काठमाडौं । नेकपा एमालेका एकताका लागि अन्तिम प्रयासस्वरुप नेताहरुबीच छलफल जारी छ । एमाले एकता कायम गर्ने प्रयासमा लामो समयदेखि अनौपचारिक र औपचारिक वार्तामा भइरहेको छ ।
पार्टी फुटबाट जोगाउनका निम्ति एमालेका दोस्रो तहका नेताहरूले सक्रिय भएका छन् । यसबीच उनीहरुले आज ९शुक्रबार० पनि छलफल गरेका छन् ।
ललितपुरको समिट होटलमा भएको वार्तामा पार्टीलाई एकता गर्ने सहमति भएको छ । वार्तामा सहभागी एक नेताका अनुसार २०७५ जेठ २ को अवस्थाबाटै पार्टीलाई एकतावद्ध बनाउने र नेकपाबाट एमाले बनेका पूर्वमाओवादी नेता कार्यकर्तालाई समेत समायोजन गर्दै बलियो एमालेको पक्षमा उभिने सहमति भएको हो ।
स्रोतका अनुसार आज भएको छलफलमा केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए भने माधव नेपाल(झलनाथ खनाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी रहेका थिए ।
एमाले विभाजनको प्रयास सफल नहुने र केही दिनमै पार्टीको संयुक्त बैठक बस्ने नतो नेम्वाङले बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २ कै अवस्थाबाट पार्टीलाई अघि बढाउने यसअघि नै आह्वान गरिसकेकाले यसमा अरु सर्त र आशंकाको अर्थ नरहेको नेम्वाङको भनाई छ ।
प्रधानमन्त्री ओलीले अन्य विषयमा सहमति जुट्दा नेपालपक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए । उक्त विषयमा पनि मध्यमार्गी बाटो खोज्ने सहमति भएको छ । ‘मुद्दामा कुरा मिलिसक्यो, त्यसमा पनि भाषा कसरी मिलाउने भन्ने बाँकी छ,’ वार्तामा सहभागी एक नेताले भने।
जेठ २ अघिको बैठक पहिले बसेर त्यही बैठकले नेकपामा रहेका केन्द्रीय सदस्यहरूलाई थप्ने र पूर्वमाओवादी नेताहरूलाई पनि यथावत जिम्मेवारी दिएर समायोजन गर्ने गरी अघि बढ्न दुवै पक्ष सहमत स्रोतले बतायो ।
स्रोतका अनुसार माधव नेपालसहितका नेताहरूमाथिको कारवाही फिर्ता लिने र संसद पुनःस्थापना भए पनि नभए पनि एमालेको नेतृत्वको सरकारका पक्षमा माधव पक्ष उभिने कुरा भएको हो । तर माधव नेपाल, भीम रावल लगायतका नेताहरुले पछिल्लो वार्ताप्रति संशय व्यक्त गरेका छन ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।