काठमाडौं । नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप बलियो बनाएर अघि लैजाने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने निश्कर्ष निकालेको हो ।
कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा विपक्षी गठबन्धनमा आबद्ध छन्।
गठबन्धनका साझा धाराणाप्रति कांग्रेसकै केही नेताहरुले प्रश्न उठाइरहेका बेला विपक्षी गठबन्धन बलियो बनाउने निर्णय भएको हो । केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न उठाएका थिए भने डा.शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
यद्यपि शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आबद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ । संशोधित कार्यतालिकाअनुसार साउन १२ गते वडा अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।