• सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

  • काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरूले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिएका हुन् ।

    विरोधीहरू आक्रमक ढंगले प्रस्तुत भएको भन्दै उनले सरकारको कामको प्रचारप्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गरेका छन् । ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ’ उनले भने ।

    प्रधानमन्त्री ओलीले यत्रो समय कटाएको भएपनि सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको टिप्पणी पनि गरे । उनले यस वर्ष अघिल्ला वर्षहरूमा जस्तो तराई डुबानमा नपर्ने पनि बताए । नेपाल-भारत सीमाक्षेत्रमा लगाएको बाँध पहिले खुल्ला नछोडिने गरेका कारण डुबान भएको भन्दै उनले यस वर्ष बाँधलाई खोलिएको बताए । अन्य विभिन्न ठाउँमा पनि बाँध खोलिँदै जाने उनले जिकिर गरे । बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यस निम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

    ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरूमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो । सीमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ’ उनले भने ।

    प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको स्पष्ट पारेका छन् । सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको उनले बताए । ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदि निकाल्ने काम रोक्ने, खानी पत्ता लगाउने त्यो खानी उपयुक्त छ कि छैन वातावरणीय सर्भे गर्ने, वातावरण अनुकूल हुन्छ कि हुँदैन वातावरणीय सर्भे गरेर अनि मात्रै खानीबाट गिट्टी बालुवा निकाल्ने । अब बढी भयो भनेदेखि त हामीले विक्री पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन’ उनले भने ।

    उनले अहिले नयाँ बाटो बनाउने काम जोखिमयुक्त भएकाले भदौँसम्म नयाँ बाटो खन्ने तथा पहाडहरू भत्काउने काम रोक्नुपर्ने पनि बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय