• कांग्रेस केन्द्रीय समितिकाे बैठक बस्दै : यस्ताे छ एजेण्डा

  • काठमाडाैँ  ।नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको १४औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रीत रहने नेताहरूले बताएका छन्। भदौ १६ गतेको मिति तय भएपनि त्यो समयमा महाधिवेशन सम्भव नभएको नेताहरूले नै बताउँदै आएका छन् ।

    सभापति शेरबहादुर देउवाको निवासमा पछिल्लोपटक बसेको पदाधिकारी बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव छलफल गरी निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

    कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने बताएको छ।

    भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ। कोरोना महामारी कायमै रहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेबारे पनि आज बैठकमा छलफल हुनेछ। कांग्रेसमा केन्द्रीय समिति चयन गर्न महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर मतदान गर्ने गरिन्थ्यो।

    जिल्ला, क्षेत्र वा प्रविधि प्रयोग के गरेर महाधिवेशन गर्न सकिन्छ भन्नेबारे आज केन्द्रीय समितिमा छलफल गरी टुंगो लगाइने भएको छ।

    कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेकोमा अहिलेसम्म ८ लाख क्रियाशील सदस्य बनेका छन्। यिनै क्रियाशील सदस्यबाट वडा कार्यसमिति बन्नेछ भने उनीहरूले क्षेत्रीय प्रतिनिधि चयन गरी महाधिवेशनका लागि प्रतिनिधि पठाउँछन्। समयमै महाधिवेशन गराउन नसकेका सभापति शेरबहादुर देउवा विधानको टेको लगाएर महाधिवेशन सार्दै कार्यकाल लम्ब्याउँदै गरिरहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय