• दिल्ली उड्नुअघि नेता खनालको आग्रह– एमालेलाई फुटबाट जोगाउ

  • काठमाडाैं। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन आह्वान गरेका छन्।

    स्वास्थ्य उपचारका लागि आज भारतको नयाँ दिल्ली जानुअघि उनले आज विज्ञप्ति जारी गरी एकता सफलताको र फुट विनासको बाटो भएकाले पार्टीलाई फुटबाट जोगाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

    रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकता जोगाउनुपर्ने उनको भनाइ छ।

    ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्न सकेमा भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं,’ उनले भनेका छन्,’त्यसैले टुटफुट र विभाजन होइन एकता गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु।’

    उनले एमाले पार्टी सयौं शहीदको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौंको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दूसम्म आइपुगेको उल्लेख गरे।

    पूर्वप्रधानमन्त्री खनालले एमाले पार्टी देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको जनाउँदै भनेका छन्, ‘तर जनताको चाहना र अपेक्षाविपरीत हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ।’

    उनले देश, लोकतन्त्र र पार्टीको अहिलेको अवस्थाले आफूलाई अत्यन्तै चिन्तित बनाएको उल्लेख गर्दै विगतमा सबै मिलेर हासिल गरेका ठूला सफलतालाई स्मरण गर्न समेत आग्रह गरे।

    ‘देशको बिथोलिएको वर्तमान राजनीतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ। दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन्’, उनले भनेका छन्,’त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालीन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्‍यो र अहिले एमालेमा परिरहेको छ।”

    नेता खनालले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाका रुपमा रहेका दलहरुभित्र विभाजन आउनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख गरेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय