• गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त, अब यसरी बन्नेछ नयाँ सरकार

  • काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।

    संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा २९ वैशाखमा मुख्ममन्त्री नियुक्त भएका गुरुङले उपधारा ४ अनुसार विश्वासको मत प्राप्त गर्न नसकेपछि अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

    जसअनुसार अब उपधारा २ अनुसारको कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार देखाएमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

    उनले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा एमालेका २७ जना सांसदले मात्रै मत दिएका थिए भने उनको विपक्षमा ३० मत परेको थियो ।

    मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री रहेका दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए ।

    नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका थिए ।
    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका गुरुङले विश्वासको मत नपाएपछि धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

    संविधानको धारा १६८ को उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।’

    अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत हासिल गर्ने आधार प्रस्तुत गर्न कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।

    विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गरेका छन् । उनले यसअघि धारा १६८(२) अनुसारको मुख्यमन्त्रीमा समेत दाबी गरेका थिए । तर जनमोर्चाका सांसद कृष्ण थापा विपक्षमा उभिएपछि उनी बहुमत जुटाउन असफल भएका थिए ।

    उनलाई मुख्यमन्त्री बनाउन कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसदको समर्थन छ भने उनले एक मत जुटाउन सके मुख्यमन्त्री बन्नेछन् ।

    मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेदकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) ले कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनमा गएका छन् । मनाङेले साथ दिएमा जनमोर्चाका कृष्ण थापा विपक्षमा उभिए पनि पोखरेलको पक्षमा बहुमत पुग्नेछ ।

    धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग भएर प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय