• प्रतिनिधिसभा विघटनम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी सोमबार

  • काठमाडाैं। प्रतिनिधिसभा विघटनम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा सोमबारका लागि तोकिएको छ।

    आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथि बहस सुरू भएको थियो । तर इजलास गठनकै विषयमा विवाद केन्द्रित भएपछि विषय केन्द्रित सुनुवाइ सुरू हुन सकेन।

    महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्याधिवक्ता अग्निप्रसाद खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्तले इजलास गठनप्रति आपत्ति जनाउँदै बस्न नचाहेका न्यायाधीशलाई इजलासमा राखेको र बस्न चाहने न्यायाधीशलाई नराखिएको भन्नेमा आपत्ति जनाए। सो इजलास आजै गठन भएको थियो।

    अधिवक्ताहरु राजाराम घिमिरे, यज्ञमणि न्यौपाने, दीपक मिश्र र कृष्णप्रसाद भण्डारीले इजलासमा हाल रहेकासहित ११ न्यायाधीशले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न नमिल्ने दाबीसहित निवेदन पेस गरेका थिए।

    उक्त निवेदन फिर्ता लिन आग्रह गर्दै प्रधानन्यायाधीश राणाले फिर्ता नलिए मानहानीकाे मुद्दा चलाउने चेतावनी दिएका थिए।

    निवर्तमान प्रतिनिधिसभाका १४६ सदस्यसहितका २६ रिट निवेदन संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।

    प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेस गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन दर्ता गराएका छन्।

    प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन्त्रीमा नियुक्ति र निर्धारित समयमै निर्वाचन गराउनुपर्ने माग राखी भएको रिट निवेदनमा नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधिसभाको विश्वासको मत प्राप्त गर्ने ठोस आधार नदेखिएकाले पुनः प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिलेन भन्ने राष्ट्रपतिको जेठ ७ गतेको निर्णय राजनीतिक दलसम्बन्धी ऐन, २०७३ विपरीत भएको उल्लेख छ ।

    रिट निवेदनमा उक्त ऐनमा भएको व्यवस्था विपरीत प्रधानमन्त्री ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्न नसक्ने भनी निर्णय गर्नु संविधानको मर्म र भावना विपरीत पनि भएको उल्लेख गर्दै सो निर्णय बदर गरी नेकपा(एमाले) संसदीय दलका नेता ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले भने प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको मिति तोकेकी छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय