• शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाको घोषणा

  • एजेन्सी। अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्र ग्रहबारे थप जानकारी जुटाउन दुई वटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको छ ।

    पृथ्वी जीवन्त भए पनि सबैभन्दा नजिकको शुक्र ग्रह किन आगोको गोला बन्यो भन्ने बारेमा जान्न यो दशकको अन्त्यसम्ममा मिसन सञ्चालन गर्ने भएको हो ।

    नासाले पठाउने दुई वटा मिसनले शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्नेछ। ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन् । सन् २०२८ र २०३० को बीचमा मिसन सञ्चालन हुने बताइएको छ ।

    नासाका प्रशासक बिल नेल्सनले ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षपछि पहिलो पटक शुक्रबारे अनुसन्धान गर्ने मौका दिने बताएका छन् ।

    यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो । त्यसपछि शुक्र ग्रहको नजिक भएर अन्य यानहरुले यात्रा गरेपनि शुक्रमा मिसन सञ्चालन गरिएको छैन ।

    नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ।

    प्रशासक नेल्सनले भने, ‘यी दुई मिसनहरूले शुक्रग्रह कसरी आगोको गोलाजस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसासमेत पग्लन्छ भनेर जान्न खोज्नेछन्।’ सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो । जसको सतहको तापक्रम ५०० डिग्री सेल्सियस छ ।

    डाभिन्ची प्लस नामक पहिलो मिसनले शुक्र ग्रह कसरी बनेको र विकसित भएको भनेर हेर्नेछ । त्यसले शुक्रग्रहमा कुनै समय महासागर थियो वा थिएन भन्ने पत्ता लगाउन खोज्नेछ ।

    दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्सांकन गरेर त्यसको भौगोलिक इतिहासका साथै किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि जान्न खोज्नेछ । राडारको प्रयोगमार्फत ज्वालामुखी विस्फोट तथा भूकम्पका विषयमा पनि अनुसन्धान गरिने भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस